‘हेलो सरकार’मा गुनासोको चाप बढ्दो, नागरिक–सरकार संवादको प्रभावकारी माध्यम बन्दै
चितवन, ०२ असार । नागरिकका गुनासा, सुझाव र जिज्ञासालाई राज्य संयन्त्रसम्म सहज रूपमा पुर्याई प्रभावकारी सम्बोधन गर्ने ‘हेलो सरकार’ प्रणाली पछिल्ला वर्षहरूमा गुनासो व्यवस्थापन, सेवा प्रवाहको अनुगमन र सुशासन प्रवर्द्धनको महत्वपूर्ण माध्यमका रूपमा विकसित भएको छ। नागरिकको पहुँच र सहभागिता बढ्दै जाँदा प्रणालीमा दर्ता हुने उजुरी तथा गुनासोको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ।
सरकारले ‘हेलो सरकार’लाई केवल गुनासो सुनुवाइको माध्यममा सीमित नराखी नागरिक–सरकार संवाद, नीतिगत सुधार तथा सार्वजनिक सेवाको गुणस्तर मूल्याङ्कन गर्ने एकीकृत डिजिटल प्लेटफर्मका रूपमा विस्तार गर्ने तयारी गरिरहेको छ। बहुच्यानल प्रणाली, कृत्रिम बौद्धिकता (एआई) आधारित प्रविधि र एकीकृत ड्यासबोर्डमार्फत गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको छ।
हालसम्म प्रणालीमा एक लाख १६ हजारभन्दा बढी गुनासो दर्ता भइसकेका छन्, जसमध्ये ६५ हजारभन्दा बढी फर्छ्योट भएका छन्। पछिल्ला वर्षहरूमा गुनासो दर्ता र समाधान दुवैमा उल्लेख्य वृद्धि देखिएको छ, जसले सार्वजनिक सेवा, सुशासन र उत्तरदायित्वप्रति नागरिकको बढ्दो चासो र सहभागिता प्रतिबिम्बित गरेको छ।

























