राहदानी छपाई प्रकरणबारे संसदमा सरकारको जवाफ माग
चितवन, ०५ असार । प्रतिनिधिसभाका सांसदहरूले विद्युतीय राहदानी छपाई प्रकरणसँग सम्बन्धित सार्वजनिक समाचारबारे चासो व्यक्त गर्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खडगबहादुर बुढालाई बोल्न समय दिएका थिए। सांसद बुढाले विद्युतीय राहदानी छपाई प्रकरणबारे सार्वजनिक भएका समाचारका विषयमा सरकारको धारणा स्पष्ट पार्न माग गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले पनि राहदानी छपाईसम्बन्धी प्रकरणमा सरकारको जवाफ आवश्यक रहेको बताइन्।
बैठकमा नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै विश्वविद्यालयको स्वायत्तता कमजोर पार्ने गतिविधि रोक्न आग्रह गरे।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले दुई देशबीचको सीमा सम्बन्धमा गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति असहमति जनाए।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै रक्षा मन्त्रालयको बजेट पुस्तिका आफूले हेर्न नपाएको गुनासो गरे। साथै, भारतको पटनामा नेटवर्किङका नाममा नेपाली नागरिकलाई बन्धक बनाइएको भनिएको सार्वजनिक समाचारबारे पनि सरकारसँग स्पष्ट जानकारी माग गरे।






















