योगलाई जीवनशैली बनाउन राष्ट्रपति पौडेलको आह्वान
चितवन, ०७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई स्वस्थ, सरल र सन्तुलित जीवनको आधारका रूपमा ग्रहण गर्दै जीवनशैलीकै हिस्सा बनाउन आग्रह गरेका छन्।
१२औँ विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले योग शरीर, मन र आत्मालाई एकसूत्रमा बाँध्ने समग्र अभ्यास भएको उल्लेख गरेका छन्। योगमा ध्यान, प्राणायाम तथा शारीरिक आसनहरूको संयोजन रहने भन्दै उनले यसलाई वैज्ञानिक र मानवीय जीवनपद्धतिको रूपमा अपनाउनुपर्नेमा जोड दिएका छन्।
उनले योग, ध्यान र साधनाले तनाव कम गरी शरीर, मन र आत्मामा सन्तुलन कायम गर्न तथा सकारात्मक ऊर्जा प्रवाह गर्न सहयोग गर्ने बताएका छन्।
सन्देशमा योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक–पुरातात्विक प्रमाणहरूले नेपाललाई योगभूमिका रूपमा चिनाउँदै आएको उल्लेख गरिएको छ।
राष्ट्रपति पौडेलले योगलाई विश्वव्यापी रूपमा शान्ति, स्वास्थ्य र एकताको सन्देश दिने हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंग भएको बताउँदै आधुनिक जीवनमा बढ्दो तनाव, प्रदूषण र प्रतिस्पर्धाका बीच स्वस्थ जीवनका लागि योगलाई जीवनशैलीका रूपमा अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।



















