राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आज चितवनमा सुरु हुँदै
चितवन, ०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आज (असार ७) चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। उद्घाटन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम रहेको छ।
महाधिवेशनमा देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ। पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार महाधिवेशनमा कुल ३ हजार ९१८ प्रतिनिधिहरू सहभागी हुनेछन्।
त्यसमध्ये ३०० प्रतिनिधि पार्टीका दुई महामन्त्रीलाई मनोनयनमार्फत छनोट गर्ने जिम्मेवारी दिइएको छ। पार्टीले सदस्य संख्या करिब पाँच लाख पुगेको दाबी गरेको छ।
सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने ४ हजार ६३ वडामा अधिवेशन सम्पन्न भएको छ। त्यस्तै, ६ प्रदेशका ६४ जिल्लामा अधिवेशन सम्पन्न भई प्रतिनिधि छनोट भइसकेका छन्।
मधेश प्रदेश र निर्वाचन हुन बाँकी १३ जिल्लाका तदर्थ समितिबाट पनि प्रतिनिधि सहभागी हुने उनले जानकारी दिएका छन्।






















