रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, असार ९ गते मतदान
चितवन, ०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली शनिबार राति नै प्रकाशित भइसकेको छ भने अन्तिम नामावली आज राति ११ बजे सार्वजनिक गरिनेछ।
आयोगका प्रमुख भुवन केसीका अनुसार सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयन फारम वितरण सुरु हुनेछ। उम्मेदवारी दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्म गरिनेछ भने साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता सोमबार साँझ ६ बजेदेखि ७ बजेसम्म गर्न सकिनेछ। त्यसपछि ७ बजेदेखि ९ बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ हुनेछ। उम्मेदवारले राति ९ः१५ बजेसम्म नाम फिर्ता लिन सक्नेछन् भने अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिनेछ।
निर्वाचनअन्तर्गत असार ९ गते (मंगलबार) बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ। यस चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान गरिनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी करिब दुई घण्टाभित्र नतिजा घोषणा गरिने आयोगले जनाएको छ। त्यसपछि आवश्यक परे दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइनेछ।
आयोगले सभापति पदका उम्मेदवारका लागि ५१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरेको छ। पदाधिकारीका लागि ४१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्य पदका उम्मेदवारले २१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ र उनीहरूका लागि पनि एक जना प्रस्तावक तथा २१ जना समर्थक आवश्यक रहनेछ।
रास्वपाको प्रथम महाधिवेशनमा कुल ४ हजार २११ प्रतिनिधि सहभागी छन्।























