पूर्वमन्त्री तथा कांग्रेस नेता राजेन्द्र खरेलको निधन
चितवन, ०८ असार । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ।
दमसम्बन्धी स्वास्थ्य समस्याका कारण बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति करिब ९:४५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई आफ्नो राजनीतिक आदर्श मान्ने खरेल २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएपछि शिक्षा राज्यमन्त्री बनेका थिए। पछि उनले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।
उनको निधनप्रति नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्। पाँचखाल नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. २ का सभापति महेश खरेल उनका छोरा हुन्।
खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।






















