गृहमन्त्री सुदन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी, हिरासतभित्र धम्की र मानसिक यातनाको आरोप
चितवन, ०८ असार । गृहमन्त्री सुदन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। हिरासत कक्षभित्र मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार उल्लंघन भएको आरोप लगाउँदै अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगमा उजुरी दिएका हुन्।
उजुरीमा आयोगको विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई हिरासतमा रहेका सोडारी, बम र पौडेलको बयान लिन तथा घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको छ।
त्यसैगरी, गृहमन्त्री गुरुङको टोली प्रवेश गरेको भनिएको जेठ १९ गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरका सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर सुरक्षित राखी आयोगको नियन्त्रणमा लिनुपर्ने माग पनि गरिएको छ।
उजुरीकर्ताहरूले पद र शक्तिको दुरुपयोग गर्दै हिरासतभित्र पुगेर ज्यान मार्ने धम्की र मानसिक यातना दिएको आरोपमा गृहमन्त्री गुरुङ तथा उनको टोलीविरुद्ध फौजदारी र मानव अधिकार उल्लंघनसम्बन्धी कारबाही अघि बढाउन माग गरेका छन्। साथै, अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउन भूमिका खेलेका प्रहरी कर्मचारीमाथि पनि विभागीय कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिन आयोगसँग आग्रह गरिएको छ।
























