विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोधको पराकाष्ठा : ओली
चितवन, ०९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र योजनाबद्ध षड्यन्त्रको निरन्तरता भएको आरोप लगाउनुभएको छ। उहाँले सरकार विपक्षी दलप्रति अराजनीतिक र अलोकतान्त्रिक व्यवहारमा उत्रिएको भन्दै यस्तो कदमको डटेर प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ।
अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा पूर्वनिर्धारित कार्यक्रमका बीच विधिको शासन र सामान्य कानुनी प्रक्रियालाई बेवास्ता गर्दै पौडेललाई पक्राउ गरिएको उल्लेख छ। सोधपुछका अन्य विकल्प उपलब्ध हुँदाहुँदै पनि राजनीतिक लाभका लागि नियतवश गिरफ्तारी गरिएको उहाँको दाबी छ।
विज्ञप्तिमा सार्वजनिक पदमा रहिसकेका र कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई “सस्तो राजनीतिक खपत”का लागि पक्राउ गरिएको आरोप लगाइएको छ। ओलीले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र अधिनायकवादी दिशातर्फ उन्मुख भएको टिप्पणी गर्दै विपक्षी नेतामाथि लक्षित यस्ता गतिविधि तत्काल बन्द गर्न आग्रह गर्नुभएको छ।
उहाँले विपक्षी दलमाथिको दबाब र प्रतिशोधपूर्ण गतिविधि नरोकिए त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनीसमेत दिनुभएको छ।
उपाध्यक्ष पौडेललाई सोमबार एमालेको आन्तरिक चुनावी समीक्षा तथा संगठन पुनर्गठन कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरिएको थियो।




















