रवि लामिछानेको आग्रह: ‘पार्टीभित्रका मतभेद सडकमा होइन, छलफलबाट समाधान गरौँ’
चितवन, ०९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र उत्पन्न हुने मतभेद, जिज्ञासा र असन्तुष्टिलाई आन्तरिक छलफलमार्फत समाधान गर्न आग्रह गरेका छन्।
चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै उनले कुनै पनि राजनीतिक दलमा विचार फरक हुनु स्वाभाविक रहेको उल्लेख गरे। तर, त्यस्ता विषयलाई सडक वा सार्वजनिक रूपमा विवादको रूप दिनुभन्दा पार्टीभित्रै बसेर समाधान गर्नुपर्नेमा उनले जोड दिए।
लामिछानेले दलको परिपक्वता मतभेद व्यवस्थापन गर्ने क्षमताबाट मापन हुने बताउँदै प्रतिनिधिहरूलाई पार्टीभित्रका समस्या र प्रश्नहरूलाई स्वस्थ बहस तथा संवादमार्फत टुङ्ग्याउन निर्देशन दिए।
उनले पार्टीलाई स्वस्थ, स्वच्छ र सुदृढ बनाउन आन्तरिक एकता आवश्यक रहेको उल्लेख गर्दै मतभेदलाई तमासाको विषय बनाएर सडक वा मैदानमा लैजाने कार्य नगर्न आग्रह गरे।
























