पौडेलको गिरफ्तारीप्रति एमालेको आपत्ति, ‘पूर्वाग्रही र गैरकानुनी कदम’
चितवन, १० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार पछिल्ला दिनमा आफूहरूप्रति पूर्वाग्रहपूर्ण र लक्षित ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको छ।
मंगलबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको बैठकपछि उपमहासचिव लेखराज भट्टले सरकारका गतिविधि एमालेविरुद्ध केन्द्रित भएको आरोप लगाए।
बैठकले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई गैरकानुनी, प्रतिशोधपूर्ण र पूर्वाग्रही कदमको संज्ञा दिएको छ। सुर्खेतमा आयोजित पार्टी कार्यक्रममा सहभागी भएका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरी काठमाडौं ल्याइएको थियो।
एमालेले पौडेललाई पक्राउ गर्ने निकायको अधिकारक्षेत्रभित्र उक्त विषय नपर्ने दाबी गर्दै गिरफ्तारी प्रक्रिया कानुनसम्मत नभएको जनाएको छ। साथै, यस्ता गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनी दिँदै पौडेलको निःशर्त रिहाइको माग गरेको छ।
उपमहासचिव भट्टले भने, “उपाध्यक्ष विष्णुप्रसाद पौडेल काठमाडौं फर्किने तयारीमा हुनुहुन्थ्यो। तर उहाँलाई सुर्खेतमै पक्राउ गरियो। पक्राउ गर्ने निकायको कार्यक्षेत्रभित्र यो विषय नपर्ने हाम्रो निष्कर्ष छ। त्यसैले यो प्रक्रिया कानुनी रूपमा उचित छैन।”




















