उद्योग मन्त्रालयमा रियल टाइम ड्यासबोर्ड सञ्चालन, उद्योग–कम्पनी दर्ताको विवरण अब सहजै हेर्न सकिने
चितवन, १५ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयका सेवा र तथ्यांकलाई थप पारदर्शी तथा सहज बनाउन रियल टाइम ड्यासबोर्ड सञ्चालनमा ल्याएको छ।
उद्योग तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको सक्रियतामा सञ्चालनमा आएको उक्त ड्यासबोर्डमार्फत अब सर्वसाधारणले दैनिक रूपमा हुने कम्पनी, उद्योग तथा फर्म दर्तासम्बन्धी विवरण रियल टाइममै हेर्न सक्नेछन्।
यसअघि नेपालमा दर्ता भएर सञ्चालनमा रहेका उद्योग तथा कम्पनीहरूको समग्र विवरण प्राप्त गर्न कठिन हुने गरेकामा ड्यासबोर्ड सञ्चालनपछि त्यस्तो जानकारी सहज रूपमा उपलब्ध हुने मन्त्रालयले जनाएको छ। आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरमा हुने दर्तासम्बन्धी विवरणसमेत यसमा समावेश गर्ने योजना रहेको छ।
हाल ड्यासबोर्डमा उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणालीबाट प्राप्त हुने तथ्यांक हेर्न सकिने व्यवस्था गरिएको छ। सूचना प्रविधि प्रणाली नभएका निकायहरूको विवरण भने डाइनामिक फर्ममार्फत समावेश गरिनेछ।
मन्त्रालयका अनुसार एपीआई (API) मार्फत विभिन्न प्रणालीलाई एकीकृत गरी ड्यासबोर्डमा रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
























