राज्यका सबै निकायले स्वतन्त्रता गुमाए, संविधानअनुसार शासन चल्न सकेन : कृष्ण सिटौला
चितवन, १६ असार । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको दाबी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘सङ्घीयता कार्यान्वयनमा प्रदेश संरचना: समसामयिक संवाद’ कार्यक्रममा बोल्दै उनले संविधानअनुसार राज्य सञ्चालन हुन नसकेको टिप्पणी गरे।
उनले प्रशासन, न्यायालय, प्रहरी तथा अन्य संवैधानिक निकायहरूले स्वतन्त्रता गुमाइसकेको उल्लेख गर्दै अहिले देश वास्तवमा कसको नियन्त्रणमा छ भन्ने अवस्था समेत स्पष्ट नरहेको बताए।
सिटौलाले नेपालमा पछिल्लो समय प्रतिशोधको राजनीति तीव्र रूपमा बढिरहेको भन्दै यस्तो प्रवृत्तिले देश र समाज निर्माणमा नकारात्मक असर पार्ने बताए।
उनले विश्व राजनीतिका प्रभाव नेपालमा पनि परेको र त्यसको नकारात्मक असर बढी देखिएको धारणा राखे। साथै, राजनीतिक दलभित्र र दलहरूबीचको अविश्वास दिनप्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै देशका साझा मुद्दामा सबै दल एक ठाउँमा बसेर सोच्ने वातावरण नै नरहेको जिकिर गरे।






















