एकीकृत निर्वाचन कानुन नआए आगामी निर्वाचन नै प्रभावित हुन सक्छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
चितवन, २३ आषाढ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चालु बजेट अधिवेशनबाट एकीकृत निर्वाचन कानुन पारित हुन नसके आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न हुने चेतावनी दिएका छन्।
निर्वाचन आयोगमा आयोजित आफ्नो बिदाइ कार्यक्रममा बोल्दै उनले एकीकृत निर्वाचन कानुन समयमै नआए अर्को वर्ष हुने निर्वाचन झन् जटिल बन्ने र निर्वाचन नै प्रभावित हुन सक्ने अवस्था सिर्जना हुने बताए।
भण्डारीले आफ्नो कार्यकालमा आयोगलाई कानुनी रूपमा थप स्पष्ट र सुदृढ बनाउने उद्देश्यले एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा पेस गरिएको भए पनि तीन वर्ष बितिसक्दा पनि संसद्मा दर्ता हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले भने, “एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेर मन्त्रालयमा पेस गरेको तीन वर्षभन्दा बढी भइसक्यो। यदि चालु अधिवेशनमै यो कानुन पारित भएन भने आगामी निर्वाचन अझ जटिल बन्न सक्छ, निर्वाचन सञ्चालनमै समस्या आउन सक्छ।”
भण्डारीले बदलिँदो समय र प्रविधिसँग मेल खाने गरी नयाँ निर्वाचन कानुन आवश्यक रहेको उल्लेख गर्दै ई–भोटिङ, आई–भोटिङलगायत आधुनिक मतदान प्रणालीलाई कानुनी आधार दिनुपर्नेमा जोड दिए। उनका अनुसार नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्न पनि निर्वाचन कानुन समयानुकूल परिमार्जन गर्नु अपरिहार्य छ।




















