बाढीपीडितको अवस्था बुझ्न गएका युवामाथिको कुटपिट र पक्राउप्रति गगन थापाको आपत्ति
चितवन, २८ आषाढ । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।
शनिबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत युवामाथि कुटपिट गरी नियन्त्रणमा लिइएको घटनालाई अत्यन्तै चिन्ताजनक, लज्जास्पद र निन्दनीय बताएका हुन्।
उनले लोकतान्त्रिक व्यवस्थामा नागरिकले प्रश्न सोध्नु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यसको जवाफ गिरफ्तारी, लाठीचार्ज वा दमन हुन नसक्ने बताए। सरकार बलियो तब हुने भन्दै उनले फरक मत र आलोचना सुन्न सक्ने क्षमता हुनुपर्ने धारणा राखे।
थापाले आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै फरक मत र जनताका प्रश्न सुन्न नसक्नु सत्ताको कमजोरी भएको टिप्पणी गरेका छन्। साथै, पक्राउ परेका सबै युवालाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।
























