‘मास्टर्नी’ चलचित्रको गीतप्रति शिक्षक महासङ्घको आपत्ति
चितवन, ०१ साउन । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतमा प्रयोग गरिएका शब्दप्रति गम्भीर असहमति जनाएको छ। महासङ्घले गीतमा शिक्षक तथा शिक्षण पेसाको गरिमामा आँच पुग्ने खालका अपमानजनक शब्द र भाव प्रयोग गरिएको भन्दै तत्काल सच्याउन माग गरेको हो।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा ले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त गीतमा विशेषगरी महिला शिक्षकमाथि लाञ्छनापूर्ण तथा अपमानजनक अभिव्यक्ति प्रयोग गरिएको आरोप लगाएका छन्। यस्तो प्रस्तुतीकरणले शिक्षक समुदायको सम्मानमा गम्भीर चोट पुर्याएको विज्ञप्तिमा उल्लेख छ।
महासङ्घले विवादित गीत तत्काल प्रसारण बन्द गर्न, चलचित्रमा पनि प्रयोग नगर्न तथा सम्बन्धित पक्षलाई शिक्षक पेसाको सम्मान कायम हुने गरी आवश्यक संशोधन गर्न आग्रह गरेको छ।




















