बाबुरामको सरकारलाई सुझाव: ‘संविधानभन्दा सुशासन र रोजगारीमा केन्द्रित होऊ’
चितवन, ०३ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले एकैपटक धेरै विषयमा केन्द्रित हुनुभन्दा सुशासन, समृद्धि र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।
संविधानको धारा २४५ संशोधनबारे कार्यदलले दिएको सुझावको सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले सरकारले धेरै लक्ष्य एकैसाथ पछ्याउन खोज्दा कुनै पनि उद्देश्य पूरा नहुने टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, “एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन। ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ।”
भट्टराईले जेनजी विद्रोहको पृष्ठभूमिमा ठूलो जनअपेक्षासहित गठन भएको नयाँ सरकारले धेरै क्षेत्रमा एकैसाथ हात हाल्नुभन्दा अहिले देशको प्रमुख आवश्यकता रहेको सुशासन र समृद्धिमा एकलव्य दृष्टि केन्द्रित गर्नुपर्ने बताए।
उनले विशेषगरी देशभित्रै वार्षिक ८ देखि १० लाख उत्पादनमूलक रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत र व्यावहारिक कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।



















