चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी पर्यटन राजस्व
चितवन, ०३ साउन । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख ३१ हजार ३२९ रहेको थियो। भ्रमण गर्नेमध्ये २२ हजार ८८३ जना सार्क मुलुकका र ८८ हजार ६६५ जना अन्य देशका पर्यटक रहेका छन्।
एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक निकुञ्ज पुग्ने गरेका छन्।
निकुञ्जले गत आर्थिक वर्षमा पर्यापर्यटनबाट २७ करोड ६३ लाख ३९ हजार ९५० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। साथै, काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवानालगायत शीर्षकबाट ३१ करोड एक लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व संकलन भएको छ।


















