तयारी पोसाक उद्योगको विकासमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री वालेन्द्र शाह
चितवन, ०५ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग भएको छलफलमा उनले उद्योगी–व्यवसायीको हितमा सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
छलफलपछि प्रधानमन्त्री शाहले विभागीय मन्त्रीलाई ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ तत्काल गठन गर्न निर्देशन दिएका छन्। उद्योगीहरूले काउन्सिल गठन भएपछि स्वदेशी कच्चापदार्थमा आधारित तयारी पोसाकको उत्पादन, निर्यात प्रवर्द्धन तथा आयात व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले रुग्ण उद्योगहरू पुनः सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन्। साथै, निःशुल्क व्यापार सम्झौता (एफटीए), वैदेशिक लगानी (एफडीआई) र अमेरिकामा नेपाली तयारी पोसाक निर्यातमा देखिएका ‘टेस्टिङ सर्टिफिकेसन’ लगायतका समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयलाई आवश्यक पहल गर्न पनि निर्देशन दिएका छन्।
उनले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ अवधारणालाई सफल बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादनमा सरकार लाग्ने बताए।
प्रधानमन्त्री शाहले नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा रूपान्तरण गर्न तयारी पोसाक उद्योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको बताए।
























