गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ, त्यसविरुद्ध नयाँ अभियान आवश्यक : प्रचण्ड
चितवन, ०७ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका उपलब्धिमाथि प्रतिक्रान्तिको प्रयास भइरहेको भन्दै त्यसविरुद्ध नयाँ अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले चम्पादेवीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले स्मृति दिवसलाई प्रतिक्रान्तिविरुद्ध नयाँ संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।
उनले गणतन्त्र र पुष्पलाल श्रेष्ठको विचारअनुसार हासिल भएका राजनीतिक परिवर्तनमाथि हमला भइरहेको दाबी गर्दै त्यसको प्रतिरोधका लागि वैचारिक र राजनीतिक रूपमा सशक्त अभियान आवश्यक रहेको उल्लेख गरे।
प्रचण्डले पुष्पलाल श्रेष्ठले सामन्तवाद र साम्राज्यवादविरुद्ध वैचारिक आधार निर्माण गर्न महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनका लागि आवश्यक राजनीतिक र वैचारिक जग बसाल्न उहाँले ठूलो संघर्ष गरेको बताए।
उनले नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरी त्यसका लागि वैचारिक तथा राजनीतिक आधार निर्माण गर्ने कठिन जिम्मेवारी पुष्पलालले सफलतापूर्वक निर्वाह गरेको पनि उल्लेख गरे।


















