फालेलुङ पहिरो प्रभावितको उद्धार र पुनःस्थापनामा ढिलाइ नगर्न सरकारलाई आङ्देम्बेको आग्रह
चितवन, १० साउन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा गएको पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाको काम तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएका र ३५ परिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेको भन्दै आङ्देम्बेले चिन्ता व्यक्त गरेका हुन्।
उनले सङ्घ, प्रदेश र स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालित भएर समन्वयात्मक रूपमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्न आग्रह गरेका छन्।
आङ्देम्बेले विज्ञप्तिमार्फत प्रभावित नागरिकको जीवनरक्षा, तत्काल उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण र विस्थापित परिवारको उचित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर प्रभावकारी काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।























