देवानगञ्ज घटनाप्रति बाबुरामको चिन्ता: ‘देशलाई अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई छैन’
चितवन, १२ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले देवानगञ्जमा एक युवाको ज्यान जाने र सुरक्षाकर्मीसहित २२ जना घाइते हुने घटना अत्यन्त गम्भीर र चिन्ताजनक भएको उल्लेख गरेका छन्।
उनले वैज्ञानिक युग, बदलिँदो भूराजनीतिक परिवेश तथा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको वर्तमान अवस्थामा यस्ता अवाञ्छित र हानिकारक घटना दोहोरिन नदिन सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने बताएका छन्।
भट्टराईले जेनजी विद्रोहपछि बनेको नवनिर्वाचित सरकार, सबै राजनीतिक दल तथा आम नागरिकलाई उच्च विवेक, संयम र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेका छन्।
उनले कुनै पनि बहानामा मुलुकलाई अविकास र अस्थिरताको भुमरीमा धकेल्ने छुट कसैलाई नरहेको उल्लेख गर्दै आगामी दिन अझ चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएका छन्।
‘आगामी दिन अझै चुनौतीपूर्ण हुन सक्छन्। हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन,’ भट्टराईले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।



















