राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेट, सुनसरी घटनाबारे छलफल
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ | १३:३७:५६
चितवन, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बुधबार शीतल निवासमा भेटवार्ता भएको छ।
भेटका क्रममा लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्था तथा सुनसरीमा हालै भएको घटनाबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। साथै, घटनापछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले राजनीतिक दलहरूबीच भएको सर्वदलीय बैठक, त्यसमा भएको छलफल, साझा धारणा र शान्तिपूर्ण वातावरण कायम राख्न चालिएका पहलका विषयमा पनि उनले राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए।
राष्ट्रपति पौडेलले मुलुकमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए। भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र संसदको प्रभावकारिताबारे पनि सामान्य छलफल भएको राष्ट्रपति सचिवालयले जनाएको छ।
प्रकाशित मिति : बुधबार, साउन १३, २०८३ |
१३:३७:५६
617





















