राष्ट्रिय सुरक्षा परिषद्को निर्णय: सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सुरक्षा समन्वय थप प्रभावकारी बनाइने
चितवन, १४ साउन । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकाय तथा सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा देशको सुरक्षा अवस्था तथा साउन १० गते सुनसरीमा भएको घटनाबारे समीक्षा गरिएको परिषद्का सदस्य सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए।
बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित पक्षसँग प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्ने गरी काम गर्ने निर्णय गरेको जनाएको छ।
यसैगरी, विपद्का घटनामा खोज, उद्धार र राहत कार्यलाई समयमै प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयमा पनि छलफल भएको थियो।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था सामान्य बन्दै गएको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो। साथै, स्थानीय तहमा संवादलाई निरन्तरता दिने, सम्भावित सङ्कट तथा भिड व्यवस्थापनका लागि सुरक्षा निकायको क्षमता अभिवृद्धि, आवश्यक स्रोत–साधनको व्यवस्थापन र तालिमलाई थप सुदृढ बनाउने विषयमा पनि जोड दिइएको थियो।
बैठकमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, मुख्य सचिव तथा प्रधान सेनापतिलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।





















