ब्रड पिक दुर्घटना नेपालको पर्वतारोहण इतिहासको दुःखद अध्याय : शंकर पोखरेल
चितवन, १७ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाकिस्तानको ब्रड पिक हिमालमा भएको हिमपहिरोमा नेपाली पर्वतारोहीहरूको निधनलाई नेपालको पर्वतारोहण इतिहासको दुःखद अध्याय भएको बताएका छन्।
आइतबार जारी शोक वक्तव्यमा पोखरेलले विश्व पर्वतारोहणमा ऐतिहासिक कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स दाइ’ तथा उनका सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनले पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।
उनले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर नेपाल र नेपालीको गौरव विश्वभर चिनाउने निम्स दाइसहित सबै दिवंगत पर्वतारोहीहरूले साहस, दृढता र सङ्कल्पको अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन्।
पोखरेलले यी साहसी पर्वतारोहीहरूको निधन राष्ट्र र विश्व पर्वतारोहण क्षेत्रका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवार, आफन्त तथा शुभचिन्तकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।





















