निर्मला पन्त प्रकरणमा गृहमन्त्री गुरुङले भने– ‘म यसको उत्तर दिन चाहन्नँ’
चितवन, २१ साउन । निर्मला पन्त हत्या प्रकरणबारे राष्ट्रियसभामा उठाइएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उत्तर दिन अस्वीकार गरेका छन्।
बिहीबार राष्ट्रियसभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाएर न्याय दिन सरकार किन असफल भयो र कहिलेसम्म न्याय दिलाइन्छ?’ भन्ने प्रश्न गरेका थिए।
जवाफमा गृहमन्त्री गुरुङले उक्त विषय अत्यन्त संवेदनशील रहेको भन्दै संसद्मा बारम्बार उठाउनु उपयुक्त नहुने बताए। उनले अनुसन्धान जारी रहेको उल्लेख गर्दै यस्तो विषयले पीडित परिवारको घाउ बल्झिने तर्क गरे। साथै, अघिल्लो सरकारको कार्यकालतर्फ संकेत गर्दै सांसदलाई ‘तपाईंहरू सत्तामा हुँदा किन गर्नुभएन?’ भन्ने प्रतिप्रश्न पनि गरे।
गृहमन्त्रीले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको दाबी गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभामा यो विषय पटक–पटक नउठाउन आग्रह गरे। आवश्यक परे व्यक्तिगत रूपमा भेटेर जानकारी लिन सकिने उल्लेख गर्दै उनले यस विषयमा विस्तृत उत्तर दिन नसक्ने बताए।
त्यसपछि पूरक प्रश्नमा सांसद विश्वकर्माले ‘निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन्?’ भनेर पुनः सोधेका थिए। त्यसको जवाफमा गृहमन्त्री गुरुङले संक्षिप्त रूपमा भने, “म यसको उत्तर दिन चाहन्नँ।”






















