राष्ट्रपति पौडेल : विविधतामा एकता नेपालको संविधानको मूल भावना हो
चितवन, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हकहित सुनिश्चित गरेको बताएका छन्।
बत्तीसौँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताए।
परापूर्वकालदेखि नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजातिको विशिष्ट पहिचान, भाषा र संस्कृति नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्दै उनले जल, जमिन तथा प्राकृतिक स्रोतसँग उनीहरूको अटुट र आध्यात्मिक सम्बन्ध रहेको बताए।
राज्यका नीति निर्माण तथा निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो। स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत रहेको उल्लेख गर्दै पौडेलले शिक्षा र अवसरमा पहुँच विस्तार गर्दै समुदायलाई अघि बढाउनु आवश्यक रहेको बताए।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा समेत आदिवासी अधिकारको पक्षमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले आईएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताए।























