सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेकोमा प्रदीप पौडेलको खुसी
चितवन, २४ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणाले वृद्धि भएको भन्दै खुसी व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने तथा ३५ प्रकारका निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति आभार व्यक्त गरेका हुन्।
पौडेलले विगतमा आफूले अघि सारेका नीति तथा योजनाकै आधारमा वैद्यखानाले गति लिन थालेको दाबी गरेका छन्। नसर्ने रोग ३० प्रतिशतले घटाउने लक्ष्यसहित राष्ट्रिय आयुर्वेद रणनीति (१० वर्षे) तथा २० प्रकारका औषधिमा सीमित ३७० वर्ष पुरानो वैद्यखानालाई ६० प्रतिशत बजार हिस्सा र GMP मापदण्डसहित पुनर्जीवन दिने पाँचवर्षे रणनीतिक योजना लागू गरिएको उनले स्मरण गरेका छन्।
उनले वैद्यखानाको थप सुधार र प्रभावकारिताका लागि सरकारलाई ६ बुँदे सुझावसमेत दिएका छन्।
सरकारलाई पौडेलका ६ सुझाव :
१. वैद्यखानाको प्रगति त्यही ५ वर्षे रणनीतिक योजनाकै प्रतिफल भएकाले यसको हुबहु कार्यान्वयन गरियोस् ।
२. ‘जडीबुटी प्रशोधन केन्द्र’ स्थापनालाई हामीले सुरु गरेको ‘ड्रग R&D युनिट’सँग जोडेर अनुसन्धानमा राज्यले विशेष लगानी गरोस् ।
३. ३५ निःशुल्क औषधिलाई १४४ नयाँसहित देशभरिका ‘नागरिक आरोग्य केन्द्र’मार्फत जनताको घरदैलोमा पुर्याइयोस् ।
४. GMP मापदण्ड हासिल गरेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधि निर्यात गर्न कूटनीतिक पहल चुस्त बनाइयोस् ।
५. कच्चा पदार्थ खरिदलाई व्यवस्थित गर्दै जडीबुटी खेतीलाई विशेष प्रोत्साहन गरियोस् ।
६. विपन्नको पहुँच सुनिश्चित गर्न आयुर्वेदका विशिष्टीकृत सेवा र औषधिलाई स्वास्थ्य बीमामा आबद्ध गरियोस् ।




















