प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेट
चितवन, २४ साउन । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने तथा विकास साझेदारीलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको पारस्परिक सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन चीन प्रतिबद्ध रहेको बताउनुभयो ।
यसअघि आजै प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि शिष्टाचार भेट गर्नुभएको थियो ।




















