राष्ट्रियसभा सदस्यद्वारा ग्यास अभावबारे सरकारसँग जवाफ माग
चितवन, २७ साउन । राष्ट्रिय सभाका सदस्यहरूले देशभर ग्यास अभाव देखिएको भन्दै समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने र यसबारे सदनलाई जवाफ दिनुपर्ने माग गरेका छन् ।
आज बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले नागरिकले ग्यास नपाएको गुनासो गरिरहेको र लामो लाइन लाग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सरकारले ग्यास अभाव नभएको दाबी गरे पनि नागरिकले सहज रूपमा ग्यास पाउन नसकेको भन्दै उनले यस विषयमा सरकारलाई रुलिङ गर्न माग गरिन् ।
त्यस्तै, सांसद तुलप्रसाद विश्वकर्माले ग्यास अभावका कारण देशभरका नागरिकले ठूलो कष्ट भोग्नुपरेको भन्दै सरकारले तत्काल समस्या समाधानमा ध्यान दिनुपर्ने बताए ।
अर्का सांसद नरबहादुर विष्टले पनि सरकारले नागरिकलाई कहिलेसम्म सहज रूपमा ग्यास उपलब्ध गराउने हो भन्ने प्रश्न गर्दै समस्या समाधानका लागि स्पष्ट पहल गर्न माग गरे ।























