वाणिज्य आपूर्ति विभाग काठमाडौंका नासु ८ हजार घुससहित पक्राउ
प्रकाशित मिति: सोमबार, फाल्गुण ०३, २०७७ | १५:०६:२५
काठमाडौं ,३ फागुन ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायव सुब्बा र लेखापढी गर्ने एक जना ८ हजार रुपैयाँ घुसरकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालबाट खटिएको टोलीले विभागका नासु नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहाललाई भेट्नु भनेकोमा निज दाहाललाई भेट्ने क्रममा कर्मचारीहरू समेत मिलाउनु पर्छ भनि घुस रकम माग गरेका थिए ।
विशेष सूचनाको आधारमा घुसरकम लिईसकेको अबस्थामा उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उनीहरु दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०३, २०७७ |
१५:०६:२५
3873


















