क्षेत्रपुरको तरकारी मण्डीमा मोबाइलबाटै पैसा तिर्न सकिने
चितवन, ४ फागुन ।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा एनएमबी बैंकले क्यूआर कोड हस्तान्तरण गरेको छ । डिजिटल नेपाल बनाउने सरकारको कार्यक्रमलाई टेवा पु¥याउन क्यूआर कोड प्रदान गरिएको बैंकका वाग्मती प्रदेश प्रमुख गणेश पराजुलीले जानकारी दिनुभयो ।
काठमाडौँको तरकारी बजारपछि भरतपुरको महानगर फलफूल तथा तरकारी बजारमा व्यवसायीहरुसँग सहकार्य गर्दै क्यूआर कोड प्रदान गरिएको पराजुलीको भनाइ छ । व्यवसायीहरुलाई नगदरहित कारोबारतर्फ आकर्षित गराउने उद्देश्यले क्यूआर कोड वितरण गरिएको पराजुलीको भनाइ छ । बैंकले साना तथा मझौला उद्यमीहरुलाई लक्षित गर्दै ऋण प्रवाह तथा महिला उद्यमी बढाउनका लागि न्यून शुल्कमा ऋण प्रवाह गरिरहेको भन्दै यसको फाइदा उठाउन समेत पराजुलीले आग्रह गर्नुभयो ।

सो कार्यक्रममा एनएमबी बैंकका एरिया म्यानेजर दुर्गाराम पुरीले नगद कारोबार गर्दा पर्ने अप्ठ्याराहरु क्यूआर कोड सुरु भएपछि समाधान हुने बताउनुभयो । क्यूआर कोडबाट कारोबार गर्दा समयको बचत हुने, नगद हराउने तथा लेनदेनमा हुने समस्याको अन्त्य हुने पुरीले बताउनुभयो ।
सो कार्यक्रममा महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले नगदरहित कारोबार गर्दा व्यवसायीहरुलाई फाइदा पुग्ने बताउनुभयो । बिक्री भएको सामानको रकम सिधै बैंक खातामा जाने भएकाले रकम हराउने तथा चोरी हुने समस्याको समेत डर नभएको उहाँले बताउनुभयो ।
पसलमा राखिएको क्यूआर कोड स्क्यान गरेर मोबाइलबाटै सामानको पैसा तिर्न सकिने एनएमबी बैंक लायन्सचोक शाखाका प्रबन्धक विवेक अधिकारीले बताउनुभयो । मोबाइलले इन्टरनेटको सहायताबाट व्यवसायीलाई ग्राहकले रकम तिर्न सक्ने उहाँको भनाइ छ ।
कार्यक्रम एनएमबी बैंक लायन्सचोक शाखाकी विजनेश डेभलपमेन्ट म्यानेजर निशा प्रधानको संयोजकत्वमा भएको थियो । महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धिताललाई क्यूआर कोड हस्तान्तरण गरेर सो बजारमा क्यूआर कोडको शुभारम्भ गरिएको प्रधानले जानकारी दिनुभयो ।
























