कुमाता कथासङ्ग्रह तेस्रो संंस्करण छापिने
चितवन, २७ फागुन ।
पत्रकार एवं कथाकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण प्रकाशन हुने भएको छ । भूँडी पुराण प्रकाशन प्रालिले गत वर्षको फागुन २६ गते प्रकाशन गरेको कुमाता संग्रहको अहिले तेस्रो संस्करण प्रकाशन गर्न लागेको प्रालिले बुधबार विज्ञप्ति जारी गरेर जनाएको छ ।
प्रालिका शैक्षिक निर्देशक अनुपम पराजुलीद्वारा जारी विज्ञप्तिमा पाठकहरुको माग अनुसार कुमाता कथासंग्रहको तेस्रो संस्करण सार्वजनिक गर्न लागिएको जनाइएको छ । कुमात यसअघि गत असारमा दोस्रो संस्करण प्रकाशन भएको थियो । कथासंग्रहको तेस्रो संस्करणको आवरण नयाँ कलरमा छापिने छ ।
नयाँ सस्करणमा अहिलेसम्म आएका किताबका समीक्षाहरुलाई पनि समेटिने तयारी भैरहेको छ । चितवन साहित्य परिषद्को चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार, राउण्ड टेबुल गसिफ हेटौँडाको सम्मान र हाम्रो मझेरी प्रतिष्ठानको श्रष्टा सम्मानबाट सम्मानित भएको कुमाता कथा संग्रहले छोटो समयमा नै पाठकको मन तान्न सफल भएको प्रालिका शैक्षिक निर्देशक पराजुलीले बताउनुभयो ।
पत्रकार एवं कथाकार वसन्त पराजुलीले नारीप्रधान विषयवस्तुलाई टपक्क टिप्दै काल्पनिकताको जलप लगाएर कथाहरू तयार भएकोले पाठकहरुले यसलाई मन पराइ दिनुभएको बताउनुभयो । यसैबीच, कुमाता कथा संग्रह प्रकाशन भएको एक वर्ष पुगेको अवसरमा बुधबार नारायणगढमा पुस्तकमाथि अन्तक्र्रिया गरिएको छ । सम्पूर्ण किताब नाराययागढले आयोजना गरेको सो कार्यक्रममा अक्षर समूह चितवनका अध्यक्ष प्रभाकर पण्डितले नारी संवेदनामा तयार भएको कथा समय सामेक्ष भएको बताउनुभयो ।
“कथा युग सुहाउँदो भएर पनि पाठकको मन तान्न सफल भएको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा साहित्यकार एल बी क्षत्रीले कथाले मान्छेको जीवन बोकेको हुनुपर्ने धारणा राख्नुभयो । सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले संयोजन गर्नुभएको सो कार्यक्रममा चितवन साहित्य परिषदका सहसचिव शान्ति शर्मा, पुस्तकका लेखक बसन्त पराजुलीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कविद्वय रामबाबु दाहाल र शिवनारायण पण्डित सिङ्गलले कविता वाचन गर्नुभएको थियो ।























