एमबीएस प्रश्नपत्र लिक प्रकरणमा दोषीलाई कानुनी कारबाही गर्ने शिक्षामन्त्री पोखरेलको भनाइ
चितवन, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्।
मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र सार्वजनिक प्रकरणमा संलग्न भएको आरोपमा दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए।
उनका अनुसार प्रश्नपत्र बाहिरिएको जानकारी प्राप्त भएलगत्तै गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी निगरानी बढाइएको थियो। मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटना दोहोरिने गरेको उल्लेख गर्दै यसपटक तत्काल अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको बताए।
सुशासनविरोधी गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनको दायरामा ल्याइने स्पष्ट पार्दै उनले विस्तृत अनुसन्धानपछि घटनाको सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिए।
यसैबीच, प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।






















