वन र वातावरण संरक्षणबिना मानव अस्तित्व संकटमा पर्छ : मन्त्री गीता चौधरी
चितवन, १० साउन । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि, जल, जमिन र प्राकृतिक स्रोतको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्। उनले प्राकृतिक सम्पदाको संरक्षणबिना दिगो विकास र मानव अस्तित्व दुवै जोखिममा पर्ने चेतावनी दिइन्।
धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वन तथा पर्यावरणको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिन्।
उनले सडक पूर्वाधार निर्माण मात्र विकासको मापदण्ड हुन नसक्ने भन्दै कृषि, वन, जलस्रोत, जमिन र वातावरण संरक्षणसँगै समग्र र सन्तुलित विकासलाई अघि बढाउनुपर्ने धारणा राखिन्। देशको समृद्धिका लागि सबै क्षेत्रको समान महत्व रहेको उनको भनाइ थियो।
बाल्यकालदेखि ‘हरियो वन नेपालको धन’ र ‘नेपाल कृषि प्रधान देश हो’ भन्ने नाराहरू सुन्दै आए पनि कृषि र वन क्षेत्रले अपेक्षित प्राथमिकता पाउन नसकेको उल्लेख गर्दै मन्त्री चौधरीले सरकारले माटो सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै प्राकृतिक स्रोत संरक्षणमा विशेष ध्यान दिइरहेको बताइन्।
मन्त्री चौधरीले सरकारले प्रत्येक प्रदेशमा एक–एक वटा प्राणी उद्यान स्थापना गर्ने योजना अघि बढाएको जानकारी दिँदै सोही योजनाअनुसार मधेस प्रदेशमा पनि प्राणी उद्यान निर्माण गरिने स्पष्ट पारिन्।
उनले सङ्घ र प्रदेश सरकार एउटै राज्य संरचनाका अङ्ग भएकाले आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै मधेस प्रदेशमा कृषि, वन तथा वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्।























