एनसीसी बैंकको १२८औँ शाखा भरतपुरको हाकिमचोकमा
चितवन, २ फागुन ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बैंकले आफ्नो १२८औँ शाखाको रुपमा भरतपुरको हाकिम चोकमा शाखा विस्तार गरेको छ । सोमबार बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले शाखाको उद्घाटन गरेका हुन् ।
नयाँ शाखा सञ्चालनका क्रममा अध्यक्ष न्यौपानेले एनसीसी बैंकले नगदरहित भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको बताए । सरकारको डिजिटल नेपाल अभियानलाई सहयोग गर्दै आफूहरुले क्यूआर कोड मार्फट नगदरहित भुक्तानीलाई प्राथमिकता दिने न्यौपानेको भनाइ छ । शाखा उद्घाटनका क्रममा न्यौपानेले जिल्लाका व्यवसायीहरुलाई क्यूआर कोडसमेत प्रदान गरेका थिए ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेशराज अर्यालले सुलभ, सरल र सुरक्षित रूपमा बैंकिङ सेवा पु¥याउने प्रतिबद्धता जनाए । भरतपुर–९ केन्द्रीय बस टर्मिनलसँगै सञ्चालित शाखा एक वर्ष अगाडि नै सञ्चालन गर्ने भनिए पनि कोभिडका कारण ढिलाइ भएको अर्यालले बताए । छरिएर रहेका पुँजीलाई एकीकृत गरी कृषि, पर्यटन, स्वास्थ्य, शिक्षामा लगानी गर्दै वित्तीय सेवा पु¥याउने अर्यालले प्रतिबद्धता जनाए ।

सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने उद्देश्यले २०५३ सालदेखि सेवा दिँदै आएको एनसीसी बैंकले यसअघि चितवनको तीन स्थानमा शाखा र माडीमा विस्तारित शाखाबाट सेवा प्रवाह गर्दै आइरहेको अर्यालले समावेसी खबरलाई जानकारी दिए । चितवनका अन्य स्थानमा समेत आवश्यकताअनुसार बैंकको शाखा विस्तार गर्दै लगिने अर्यालको भनाइ छ । बैंकले ४६ जिल्लाका १२८ स्थानमा शाखा, आठ स्थानमा एक्सटेन्सन काउन्टर र १०२ वटा एटिएमबाट सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको अर्यालले बताए ।
शाखा उद्घाटनका क्रममा भरतपुर–९ का कार्यवाहक वडाअध्यक्ष किशोर सापकोटाले बैंकका शाखाहरु विस्तार हुँदै जाँदा उद्यमशीलता वृद्धि हुने बताए । बैंकबाट ऋण लिएर उद्यम सञ्चालन गर्ने र पुँजी निर्माण गर्ने सेवाग्राही बढ्दा देशको आर्थिक वृद्धि हुने उनको भनाइ थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलाई माथि उठाउन सकियो भने मात्रै राष्ट्रको उन्नति हुने बताए । त्यस्तै, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले उत्पादन र उत्पादनशीलतालाई प्राथमिकता दिनुपर्ने बताए ।


















