अरुणखोलाबाट लागुऔषध सहित दुई जना पक्राउ
नवलपुर, २१ जेठ ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१० अरुणखोला बजारबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गमा प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा बिहीबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा४०प ३९९३ नम्बरको मोटरसाइलकमा सवार युवाहरुको शरिरबाट अवैध लागुऔषध बरामद गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले मोटरसाइकल चालक मध्यविन्दु–१० का ३४ वर्षीय राकेश पाण्डे र मोटरसाइकलको पछाडि सवारी मध्यविन्दु–११ घर भई हाल देवचुली–१० बस्दै आएका २६ वर्षीय विशाल पछाईलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले खोजतलास गर्ने क्रममा पछाईले बोकेको झोलाभित्र अनरेक्स १०० मिलिको १३ बोत्तल, निट्राभेट १० लेखिएको २८९ ट्याबलेट, नुर्फिन १० एम्पुल, फेनारगन १० एम्पुल, डाइजापाम १० एम्पुल र एसएमपी–पीआरएक्स वकखार्डट लेखिएको ३९३ क्याप्सुल लागुऔषध सहित रु ४९ हजार ८२ नगद बरामद गरिएको गिरीले बताउनुभयो । पक्राउ परेका दुवै जना विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको गिरीको भनाइ छ ।


















