इरानका सर्वोच्च नेता खमेनीमाथिको प्रतिबन्ध हटाउने तयारीमा अमेरिका
एजेन्सी,१३ असार ।
अमेरिकाले इरानका सर्वोच्च नेता अली खमेनीमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा विचार गरिरहेको छ ।
एनबीसी न्युजले शनिवार सूत्रहरूलाई उद्धृत गर्दै दिएको खबरअनुसार, ट्रम्प प्रशासनले खमेनी तथा इरानका अधिकारी र सैन्य कमान्डरविरुद्ध लगाएको प्रतिबन्ध हटाउनका लागि अभ्यास भइरहेको छ ।
भिएनामा अमेरिका र इरानका वार्ताकारले यस विषयमा चर्चा गरेका थिए । अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा पुनः फर्काउने पहलअन्तर्गत प्रतिबन्ध हटाउने तयारी गरिएको हो ।
इरानले आणविक सम्झौताका नियमलाई पालन गर्ने आशा अमेरिकाले गरेको छ ।
सन् २०१५ मा इरान, अमेरिका र युरोपेली मुलुकहरूबीच आणविक सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार, इरानले आणविक कार्यक्रमअन्तर्गतको युरेनियम संवर्धनलाई घटाउने र त्यसको बदलामा प्रतिबन्ध खुकुलो पारिने प्रावधान थियो ।
ट्रम्प प्रशासनले अमेरिकालाई सन् २०१८ मा आणविक सम्झौताबाट निकालेर इरानमाथि कठोर प्रतिबन्ध लगाएको थियो ।
ओबामा प्रशासनले गराएको आणविक सम्झौतामा त्यतिखेर उपराष्ट्रपति रहेका जो बाइडनको प्रमुख भूमिका थियो । अहिले राष्ट्रपति बनेपछि उनले त्यसको पुनर्बहालीमा चासो देखाएका छन् ।


















