कोको ‘सेन्टीफ्ल्याट’ खाने हो थाहा छैन: अध्यक्ष नेपाल
काठमाडौँ, २८ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको टिप्पणी गरेका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले पार्टीभित्र धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिइएकाले एमालेका नेताहरू दंग परेको उनको भनाइ छ । आश्वासन दिइएका व्यक्तिलाई एमालेले अन्तिममा ‘सेन्टीफ्ल्याट’ खुवाउने उनले बताए । उनले भने, “अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरू म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् । किनभने, दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ । को–को सेन्टीफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढंगले अघि बढिरहेको छ । मैले संकेत मात्रै गरेको हो,” “हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भूमिका छ । के मूल्य छ यिनीहरूको भन्नेहरू भन्दै गरून् । हन्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भूमिका खेल्छौँ । हामी कसैको पक्षपोषण गर्दैनौँ ।”



















