समाजवादी मोर्चा, नेपालद्वारा सीता दाहालको निधनमा दुःख व्यक्त
काठमाडौँ , २७ असार । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका जीवनसंगिनी सीता दाहालको निधनमा चार दलीय मोर्चा समाजवादी मोर्चा नेपालले दुख ब्यक्त गरेको छ । मोर्चाको आज बैठक नै बस्ने कार्यतालिका तय भएकोमा प्रधानमन्त्रीका जीवनसंगिनीको निधनमा बैठक स्थगित गरेर मोर्चामा आवद्द दलका नेताहरुले दुख ब्यक्त गरेका हुन् । सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको हो ।
मोर्चामा आबद्द दलका तर्फबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका उपाध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संयुक्त वक्तब्य जारी गदैं दुख ब्यक्त गरेका हुन् ।
‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सल्लाहकार परिषद्का सदस्य तथा सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी कमरेड सीता दाहाल ६९ वर्षको उमेरमा दिवंगत हुनुभएको खबरले हामी स्तब्ध र मर्माहत भएका छौं,’ वक्तब्यमा उनीहरुले भनेका छन्, ‘कमरेड सीता दाहाल नेपाली कम्युनिस्ट आन्दोलनको एउटा अनुपम क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । उहाँ सधै कर्तव्यनिष्ठ र वर्गपक्षधर रहनुभयो । राजनीतिको अति विषम परिस्थितिमा पनि उहाँ अविचलितरूपमा नेपाली क्रान्तिको पक्षमा दृढ भएर उभिनुभयो । उहाँले नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन आफ्नो परिवारको राजनीतिक योगदानलाई सुदृढ र सङ्गठित गर्न पनि मद्दत पु¥याउनुभयो । उहाँको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्याङ्कन गर्नेछ ।’
समाजवादी मोर्चाले सीताप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षलगायत शोकसन्तप्त परिवारजनमा मोर्चाले हार्दिक समवेदना समेत व्यक्त गरेको छ ।



















