टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
चितवन, २३ असोज । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। बिहीबार टियु क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) नजिकिँदै गएकाले निर्माण कार्य तत्काल सम्पन्न गर्न भनिएको जानकारी दिएका हुन्। उनले भने कि मंसिरमा आयोजना हुने एनपिएल अघि पहिलो चरणको काम पूरा गरिनु आवश्यक छ।
निर्माण कम्पनीले मैदानको प्याराफिट निर्माण कार्य करिब सकिएको र फ्लडलाइट निर्माण एक महिनाभित्र सम्पन्न हुने जानकारी दिएको मन्त्री घिसिङले बताए। टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको रहेकोले अब दोस्रो र तेस्रो चरणको काम सुरु गर्न टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उनले बताए। मन्त्री घिसिङले स्तरोन्नतिको काममा बजेट अभाव नहुने पनि उल्लेख गरे। यसैबीच, नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले दुई–तीन हप्ताभित्र टियु क्रिकेट मैदान नयाँ स्वरूपमा तयार हुने र मंसिर १ गतेदेखि दोस्रो संस्करणको एनपिएल आयोजना गर्न क्यान तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लडलाइट जडान कार्य २०८१ फागुनमा सम्झौता भएको थियो। तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि हाल म्याद थप गरी निर्माण जारी रहेको छ।






















