दक्षिण भारतमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न
चितवन, ३० असोज । दक्षिण भारतको बङ्लोरमा नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको आयोजनामा बुधबार ‘स्वास्थ्य शिविर तथा इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न भयो। कार्यक्रममा समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले प्रवासमा नेपाली कला र संस्कृतिलाई फैलाउन यस्ता सांस्कृतिक कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अध्यक्ष पाण्डेका अनुसार, “नेपाल–भारतबीचको सम्बन्ध केवल भौगोलिक नजिकतामा मात्र होइन, सांस्कृतिक र आत्मिक एकतामा आधारित छ। यस्ता कार्यक्रमले आपसी मैत्री, सहयोग र साझा पहिचान अझ मजबुत बनाउँछन्।” महोत्सवमा सांस्कृतिक नृत्य, सङ्गीत, कविता र मैत्रीपूर्ण सांस्कृतिक आदान–प्रदानमार्फत नेपाल–भारतमैत्री सम्बन्ध सुदृढ पार्ने सन्देश प्रवाह गरिएको थियो। सो अवसरमा इन्डो–नेपाल टोलीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो।