आँबुखैरेनीमा माइक्रो बस दुर्घटना: एक महिलाको मृत्यु, १४ जना घाइते
चितवन, ११ कार्तिक । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा आज भएको माइक्रो बस दुर्घटनामा एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–१६ निवासी ५५ वर्षीया बुधमाया तामाङ रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते भएकी तामाङको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०९३७ नम्बरको माइक्रो बस चालकले नियन्त्रण गुमाउँदा बस सडकपेटीमा रोकिराखिएको नेपाल विद्युत् प्राधिकरणको (बा१ञ १२८७) सवारीमा ठोक्किएको थियो। सो बसमा १४ जना सवार थिए।
दुर्घटनामा माइक्रोका चालक ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठसहित चितवन, लमजुङ र नवलपरासीका गरी १४ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
सवै घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
						  
					
    



























