हङकङ सिक्सेसमा नेपाल अफगानिस्तानसँग पराजित
चितवन, २१ कार्तिक । हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा अफगानिस्तानसँग पराजय बेहोरेको छ।
हङकङको मिसन रोड ग्राउन्ड, मोङ कोकमा भएको खेलमा नेपाल १७ रनले अफगानिस्तानसँग पराजित भयो। जितका लागि ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।
नेपालका तर्फबाट सन्दीप जोराले १४ बलमा ८ छक्का र १ चौकासहित ५३ रनको अर्धशतक प्रहार गरे। त्यस्तै राशिद खान र मोहम्मद आदिल आलमले समान ११–११ रन बनाए भने लोकेश बमले १० रनको योगदान दिए। रुपेश श्रेष्ठ १ रनमा अविजित रहे।
अफगानिस्तानका लागि फरमुल्ला र इजाज अहमद अहमदजाइले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो। उसका लागि करिम जनितले ३५ रन, फरमनुल्लाह सफीले अविजित ३० रन र गुल्बादिन नाइबले २२ रन जोडे।
नेपालका बलर राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिँदा लोकेश बमले एक विकेट लिए।
नेपालले भोलि समूह चरणको अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ।




























