स्वास्थ्य मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु
चितवन, २३ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सेवा प्रदान गर्न थालेको जानकारी दिएका छन्।
उनका अनुसार, मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाका सेवा सिंहदरबारबाट सुरू गरिएको हो। सिंहदरबारस्थित नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयका लागि छ वटा ‘प्रिफ्याव ब्लक’ निर्माण गरेको छ।
“मन्त्रालयका सबै शाखा सर्न एक महिना लाग्नेछ,” डा. बुढाथोकीले भने, “तत्कालका लागि मन्त्री, दुई सचिव र दुई महाशाखाका काम सिंहदरबारबाट सुरु गरिएको हो।”
गत भदौ २४ गतेको जेनजी आन्दोलनमा रामशाहपथस्थित मन्त्रालयमा आगजनी भएपछि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयबाट मन्त्रालयले सेवा दिइरहेको थियो।



















