नारायणघाट–बुटवल सडक पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न
चितवन, १८ माघ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको नारायणघाट–बुटवल सडक विस्तार योजनाको पूर्वी खण्डमा पर्ने सबै पुलको निर्माण कार्य सम्पन्न भएको छ। पूर्वी खण्डमा निर्माण गरिएका ३४ पुलमध्ये हालसम्म ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेको नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ।
योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अरुणखोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै पूर्वी खण्डमा निर्माण गर्नुपर्ने सबै पुलको काम पूरा भएको हो। यस खण्डमा २५ मिटर लम्बाइसम्मका २२ वटा साना पुल र २५ मिटरभन्दा लामा १२ वटा ठूला पुल निर्माण गरिएको छ।
हालसम्म साना पुलहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने ठूला पुलमध्ये चोरमारा बजारस्थित गिरुबारी खोला पुल सञ्चालनमा आएसँगै ३३ पुलबाट यातायात सञ्चालन भइरहेको छ। यातायात सञ्चालन हुन बाँकी रहेको अरुणखोला पुललाई फागुन २१ गतेको निर्वाचनअगावै सञ्चालनमा ल्याउने लक्ष्यसहित फिनिसिङ तथा पहुँच मार्ग निर्माणको काम तीव्र रूपमा अघि बढाइएको खनालले जानकारी दिनुभयो।
पूर्वी खण्डमा सडक विस्तारको काम पनि तीव्र गतिमा अगाडि बढेको छ। दाउन्ने क्षेत्रमा कठिन भौगोलिक बनावटका कारण केही कल्भर्ट निर्माणको काम बाँकी रहेकाले अन्तिम चरणमा पुगेको खनालले बताउनुभयो। नारायणघाटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमध्ये दाउन्ने बाहेकका प्रायः सबै खण्डमा कालोपत्र सडकबाट सहज यात्रा गर्न सकिने अवस्था बनेको छ।
दाउन्ने खण्डमा भने कालोपत्रको सट्टा ढलान गरेर सडक विस्तारको काम भइरहेको छ। पहिरोको जोखिम, डाँडा काट्ने काम, बाटो चौडा बनाउने तथा जालीमा ढुङ्गा भर्ने कार्य भइरहेकाले यहाँ काम ढिलो भएको जनाइएको छ। दाउन्नेको १४ किलोमिटर सडकखण्डमध्ये पूर्वी खण्डमा चार किलोमिटर पर्छ, जहाँ २१५ वटा कल्भर्ट निर्माण गरिने योजना छ।
हालसम्म नारायणघाट–बुटवल सडक विस्तार योजनाको पूर्वी खण्डको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। दाउन्ने, अरुणखोला र दुम्कीबासका केही भागबाहेक अन्य सबै क्षेत्रमा दुईतर्फी कालोपत्र सम्पन्न भइसकेको छ। कालोपत्र सकिएका स्थानमा लेन मार्किङ र सर्भिस लेन निर्माणको काम पनि भइरहेको छ।
११४ किलोमिटर लामो नारायणघाट–बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का दिइएको हो। दुवै खण्डको जिम्मा चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले पाएको छ। करिब १७ अर्ब रुपैयाँ लागत रहेको यो आयोजना एसियाली विकास बैंक (एडीबी)को ८५ प्रतिशत ऋण सहयोगमा निर्माण भइरहेको छ। निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि सरकारले चार पटक म्याद थप गरी आगामी साउन ८ गतेभित्र आयोजना सम्पन्न गर्ने अन्तिम म्याद तोकेको छ।



















