कारोबारको पहिलो दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट, अधिकांश समूह ओरालो
चितवन, १८ माघ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० बिन्दुमा झरेको छ।
आज ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार ७२८ पटक कारोबार हुँदा कुल कारोबार रकम रु नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ दशमलव ४५ पुगेको नेप्सेले जनाएको छ।
समूहगत रूपमा हेर्दा व्यापार समूह शून्य दशमलव ५५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ समूह शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ७५, वित्त शून्य दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत् एक दशमलव ३६ तथा लगानी समूह शून्य दशमलव ९६ प्रतिशतले घटेका छन्।
त्यसैगरी जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७६, लघुवित्त शून्य दशमलव ५७, म्युचुअल फण्ड शून्य दशमलव ५०, निर्जीवन बिमा शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले ओरालो लागेको छ।
आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ७० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको रु ५५ करोड ५२ लाख ४० हजार ७६१ बराबरको १७ लाख ४६ हजार ९२४ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ।





















