हनुमानढोकामा चीर ठड्याइएसँगै होली पर्व शुरू
चितवन, १२ फाल्गुण । काठमाडौँको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यस वर्षको होली पर्व औपचारिक रूपमा शुरू भएको छ।
आज बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा करिब ३२ फिट अग्लो तीन खण्डे बाँसको चीर ठड्याइएको हो। रङ्गीचङ्गी कपडाले सजाइएको चीरको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको थियो।
चीर ठड्याएपछि सहभागीहरूले परिक्रमा गर्दै एक–आपसमा अबीर छ्यापेर हर्षोल्लासका साथ होली मनाउन थालेका छन्। यस अवसरमा गुरुजुको पल्टनले हर्षबढाइँ प्रस्तुत गरेको थियो।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतमा चीर ठड्याएसँगै फागुन शुक्ल अष्टमीदेखि काठमाडौँ उपत्यकालगायत देशभर होलीको रौनक शुरू हुन्छ। फागुन शुक्ल पूर्णिमाको राति तीन तले चीर टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सम्पन्न भएको मानिन्छ।
यस वर्ष काठमाडौँसहित पहाडी जिल्लाहरूमा फागुन १८ गते र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते होली मनाइनेछ।























