प्रधानमन्त्री सुशीला कार्कीद्धारा सफल निर्वाचनमा योगदान दिने सुरक्षाकर्मी र कर्मचारीप्रति आभार
चितवन, ०६ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सुरक्षाकर्मी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेकी छन्।
मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित कार्यक्रममा उनले कठिन परिस्थितिमा पनि निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न खटिएका सुरक्षा निकाय, प्रशासनिक कर्मचारी तथा सम्बन्धित निकायहरूको योगदानको उच्च प्रशंसा गरिन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, कार्यक्रममा उनले विभिन्न प्रदेशका सुरक्षा प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उनीहरूको समर्पण र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “हामीले बनाएको योजना तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो। हाम्रो सङ्कल्पलाई सफल बनाइदिनुभयो, त्यसका लागि म आभारी छु। मलाई बधाइ दिइरहेका छन्, तर यसको वास्तविक हकदार तपाईंहरू नै हुनुहुन्छ।”
कार्यक्रममा सहभागी सुरक्षा अधिकारीहरूले पनि यस्तो महत्वपूर्ण राष्ट्रिय जिम्मेवारीमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीजस्तो नेतृत्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताए।



















