अर्थमन्त्री डा. स्वर्णिम वाग्ले: सुधारका काम द्रुतगतिमा अघि बढ्दै
चितवन, २० चैत्र । डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अघि बढाएको बताएका छन्।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा मन्त्री वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन गरेको गतिअनुसार काम अघि बढिरहेको बताए।
उनले भने, “प्रधानमन्त्रीले गति सेट गरिदिएका छन्। त्यस रफ्तारमा सिङ्गो सङ्घीय सरकारले काम अघि बढाइरहेको छ। मन्त्रालयबीच कसले तीव्र काम गर्ने भनेर होडबाजी पनि भइरहेको छ।”
डा. वाग्लेले आफू अर्थमन्त्रीमा बहाल भएदेखि नै उद्योगी–व्यवसायीलाई सकारात्मक सन्देश दिने प्रयास गरिरहेको उल्लेख गरे। उनका अनुसार उद्योगी–व्यवसायीले वर्षौंदेखि सामना गरेका समस्या सम्बोधन गर्न पहिलो दिनदेखि नै कदम चालिएको छ।
उनले आफ्नो अग्रज पूर्वमन्त्री रामेश्वरप्रसाद खनाल नेतृत्वमा तयार भएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनका सिफारिसलाई सम्बोधन गर्ने प्रयास भइरहेको दाबी गरे। साथै, अर्थमन्त्री पदमा बहाल हुनासाथ राजस्व अनुसन्धान विभागको खारेजी र १५ वटा पुराना असान्दर्भिक ऐनहरू खारेजी गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न आवश्यक प्रक्रिया अघि बढाइएको बताए।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले उद्योगमैत्री नीति अभावमा उद्योगी–व्यवसायी मर्कामा परेको गुनासो सुनाए र बिजुली नियमित र भरपर्दो व्यवस्था सुनिश्चित गर्न आग्रह गरे।

























