गण्डकीको शानदार जित: कर्णाली ९ विकेटले पराजित, विपिन खत्री ‘प्लेयर अफ दि म्याच’
चितवन, ०१ बैशाख । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै शानदार जित हात पारेको छ। वीरगञ्जस्थित नारायणी रङ्गशालामा सम्पन्न खेलमा गण्डकीले सहज जित निकालेको हो। पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश २५.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७२ रनमा समेटियो। कर्णालीका प्रकाश जोशीले ३६ बलमा १५ रन तथा दिवन पुनले २७ बलमा १४ रन बनाए। गण्डकीका विपिन खत्रीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने अपराजित पौडेलले ३ विकेट हात पारे।
७३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी प्रदेशले १३ ओभरमा १ विकेट गुमाउँदै ७४ रन जोड्दै सहज जित निकालेको हो। गण्डकीका सिब्रिन श्रेष्ठले ३४ बलमा ४० रन तथा दीपक डुम्रेले १८ बलमा २२ रनको योगदान दिए। कर्णालीका विपिन शर्माले एक विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि गण्डकीका विपिन खत्री ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा तीन विभागीय टोली—नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबसहित सात प्रदेशका गरी १० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने फाइनल खेल वैशाख ४ गते हुने तालिका छ।


















